‘निजी क्षेत्रमा बन्दहड्ताल निषेध गर, उद्योगी–व्यवसायीको मनोबल उकास’


भैरहवा– उद्योगी व्यवसायीले औद्योगिक तथा व्यवसायिक क्षेत्रलाई बन्दहड्ताल निषेध घोषणा गर्न माग गरेका छन् । यस्तै, उनीहरुले हरेक आन्दोलनमा निजी क्षेत्रलाई लक्षित गरी क्षति पुर्याउने गरिएको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् । यसको पछिल्लो उदाहरण जेनजी आन्दोलनलाई उनीहरुले देखाएका छन् । शनिबार भैरहवामा आयोजित सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६७ औं वार्षिक साधारण सभामा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले औद्योगिक तथा व्यवसायिक क्षेत्रलाई बन्दहड्ताल निषेधित क्षेत्र भनि घोषणा गराउन महासंघले सरकार समक्ष माग गरेको र सरकारबाट यसबारेमा चाँडै नै निर्णय हुने विश्वास व्यक्त गरे ।
‘विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेजस्तै निजी लगानीको औद्योगिक तथा व्यवसायिक क्षेत्रलाई पनि हड्ताल निषेधित घोषणा गरि तोडफोड, आगजनी, लुटपाट जस्ता घटना गर्न नमिल्ने गराउनु पर्छ’, ढकालले भने, ‘यसका लागि महासंघले ड्राफ्ट बनाइ सरकार समक्ष बुझाइसकेको छ । मन्त्रिपरिषदको बैठकले चाँडै नै यसबारेमा निर्णय गर्दैछ ।’
औद्योगिक तथा व्यवसायिक क्षेत्र हड्ताल निषेधित घोषणा भएपछि आउँदा दिनमा उद्योग तथा व्यवसायिक कारोवार गर्न सहज हुने दावी उनले गरे । मुलुकको ठूलो सँख्यामा रोजगारी, राजश्व संकलनको स्रोत र विकासका पूर्वाधार औद्योगिक तथा व्यवसायिक क्षेत्रबाट हुने गरे पनि जहिले बन्दहड्तालको चपेटामा यो क्षेत्र पर्ने गरेको भनाइ उनको थियो ।
जेनजी आन्दोलनको वेला सरकारी क्षेत्रमा भएको तोडफोड तथा आगजनीका घटना तथा संरचना उठ्न नसकेकाले पाल ओढाएर ढाकेर राखिएको तर निजी क्षेत्रमा भएको क्षती मर्मत तथा पुनर्निर्माण गरेर सञ्चालनमा आउन थालिसकेको दावी उनले गरे । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित सञ्चालनका लागि आफूले निरन्तर पहल जारी राखेको उल्लेख गर्दै उनले यसका लागि पछिल्लो पटक मध्यपूर्वी देशहरुबाट सिधा हवाइ उडानका लागि प्रस्ताव राखेको जनाए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थललाई नियमित सञ्चालनका लागि सरकारले बौद्धमार्गी मुलुकहरुसँग नीतिगत तथा कुटनीतिक पहल गर्नुपर्ने र भैरहवामा निर्माणाधीन आईसीपी (एकीकृत जाँचचौकी) स्थलमा रेल–वे सेवा जोडिनु पर्ने बताए । भैरहवा नाकाबाट नेपाल भित्रिने बिदेशी पर्यटकलाई भीसा लगायतका सुविधा भन्सार बिन्दुबाटै उपलब्ध गराइनु पर्ने र भैरहवा लगायतका सिमावर्ती नेपाली सहरमा रात्रीकालिन बजार सहितको ‘मनोरञ्जनात्मक सहर’ बनाइनु पर्ने आचार्यले बताए ।
‘सिमानाकाहरुलाई व्यवस्थित बनाइँदै सिमाबाट अवैध व्यापारलाई नियन्त्रण गर्नु पर्छ’, आचार्यले भने, ‘सरकारबाट लागु गरिएको ओभरलोड भारको नियम सवै नाकाहरुमा समान हुनु पर्छ । कुनै नाकामा ओभरलोडको मतलव नै नहुने र कुनै नाकामा लागु गरिने विभेदपूर्ण व्यवहारप्रति सरकारको ध्यान जाओस्’, आचार्यले भने, ‘नेपालको फरक खालको भौगोलिक बनावट अनरुप उत्पादित बस्तुमा एमआरपी (अधिकतम खुद्रा मूल्य) लागु गरिनु पर्छ ।’
सिद्धार्थ नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले स्थानीय उत्पादनको प्रयोगलाई जोड दिँदै आम व्यवसायीको हितलाई ध्यानमा राखेर नगरपालिकाले कर नभइ करको दायरा बढाएको बताइन् । नगरपालिकाले कर छुट दिँदा पनि व्यवसायी सम्पर्कमा नआएको गुनासो उनले गरिन् । उनले निजी क्षेत्रसँग पालिकाले हातेमालो गरेर अघि बढीरहेको जनाइन् ।
नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठले गौतमबुद्ध र पोखरा विमानस्थलको अवस्था देखेर रुन मन लाग्ने जनाए । ऋणमा बनाएको विमानस्थल चलाउन निरन्तर आवाज उठाउनुपर्ने उनले बताए । स्याङ्जा उद्योग बाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठले सिद्धार्थ राजमार्गको स्तर उन्नती जरुरी रहेको बताए । सिद्धार्थ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष ठाकुरकुमार श्रेष्ठ र महासचिव कृष्णप्रसाद घिमिरेले विमानस्थल नियमित संचालन र निजी क्षेत्रको मनोबल उकास्नु पर्नेमा जोड दिए ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले काठमाडौंमा रहेका माफियाका कारण गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको बताए । यस्तै, संघले छिमेकी मुलुक र स्थानीय सवै संघसंस्थासँग सहकार्य गरेर अघि बढ्नुपर्ने सुझाव दिए ।
उद्योगी व्यवसायीले नाका व्यवस्थापन, चोरीतस्करी नियन्त्रण, स्थानीय उत्पादनको प्रयोग, विकास निर्माणका कामहरू समयमै सम्पन्न गर्नुपर्ने, राज्यले आर्थिक गतिविधि चलायमान हुने अनुकूल वातावरण तत्काल सिर्जना गर्नुपर्ने लगायतका माग राखेका छन् ।
संघले साधारण सभाका अवसरमा सञ्चारकर्मी पुनहरि बेलवासेसहित साहित्यकार डिल्लीराज भट्टराई, क्रिकेट खेलाडी रमेश कुर्मी, विद्यार्थी सन्ध्या गौतम, सन्दिप यादव, अलि अनवर अलि मुसलमान, सुमिनमा पोखरेल, आस्था सुनार, तेस्रो मुलुक धेरै निर्यात गर्ने यशोदा फुड्स प्रालि, भारत निर्यात गर्ने जगदम्बा सेन्थेटिक्स, व्यवसायी नुरुल हसन अन्सारी, चन्द्रमान श्रेष्ठ, गोबिन्दप्रसाद गोयनका, अजयकुमार गुप्ता लगायतलाई सम्मान गरेको थियो ।









प्रतिकृया दिनुहोस्