June 12, 2026, Friday
२०८३ जेष्ठ २९ शुक्रबार

पाँच महिनामा लुम्बिनी सरकारको पुँजीगत खर्च १२.३५ प्रतिशत

Advertisement

भैरहवा– लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षमको हालसम्म १५ दशमलव ३९ प्रतिशत खर्च गरेको छ । २०८२–२०८३ को मंसिर मसान्तसम्म पाँच अर्ब ९८ करोड ९० लाखको हाराहारीमा बजेट गरेको हो । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधीमा पुँजीगत खर्च १२ दशमलव ३५ प्रतिशत छ ।

Advertisement

२३ अर्ब ४७ करोड पुँजीगत बजेट मध्ये यो अवधिमा २ अर्ब ८९ करोड खर्च भएको छ । यस्तै, चालुतर्फ २० दशमलव ०२ प्रतिशत खर्च भएको छ । चालु तर्फ १५ अर्ब ४३ करोड बजेट मध्ये ३ अर्ब ९ करोडको हाराहारीमा खर्च भएको हो । प्रदेश सरकारको चालु वर्षमा ३८ अर्ब ९१ करोड छ ।

चालु खर्च बढ्दै जाँदा त्यसको अनुपातमा पुँजीगत खर्चको आकार साँघुरो देखिएको छ । स्वास्थ्य मन्त्रालयको पुँजीगत खर्च ह्वात्तै बढेको छ । यो अवधिमा मन्त्रालयले ६६ दशमलव ६९ प्रतिशत खर्च गरेको छ । एक अर्ब ५७ करोड पुँजीगत बजेट मध्ये एक अर्ब ४ करोडको हाराहारीमा खर्च गरेको छ ।

युवा तथा खेलकुद मन्त्रालय र प्रदेश सभाले एक रुपैयाँ पनि पुँजीगत खर्च गर्न सकेका छैनन् । प्रदेश सभा तर्फ जम्मा १९ दशमलव ५२ प्रतिशत खर्च भएको छ । चालु तर्फ २२ दशमलव ०५ प्रतिशत खर्च हुँदा पुँजीगत तर्फ भने कुनै पनि बजेट खर्च हुन नसकेको हो ।

युवा तथा खेलकुद मन्त्रालयमा २२ करोड ७० लाख पुँजीगत बजेट भएपनि हालसम्म एक रुपैयाँ पनि खर्च हुन सकेको छैन । चालु तर्फ भने १३ दशमलव ३२ प्रतिशत खर्च भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको पुँजीगत खर्च ११ दशमलव ७२ प्रतिशत भएको छ ।

९ अर्ब ६१ करोड पुँजीगत बजेट मध्ये एक अर्ब १२ करोडको हाराहारीमा खर्च भएको हो । सहरी विकास तथा खानेपानी मन्त्रालयको पुँजीगत तर्फ १० दशमलव ०७ प्रतिशत खर्च भएको छ । ५ अर्ब ३५ करोड बजेट मध्ये ५३ करोड ९५ लाख पुँजीगत खर्च भएको हो ।

मुख्यमन्त्री कार्यालयको पुँजीगत खर्च ६ दशमलव ४४ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयको ७ दशमलव ४५ प्रतिशत, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको एक दशमलव ०८ प्रतिशत पुँजीगत खर्च भएको छ ।

यस्तै उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको ३ दशमलव ८८ प्रतिशत, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको १० दशमलव ६७ प्रतिशत, आन्तरिक मामिला तथा कानून मन्त्रालयको शुन्य दशमलव ०३ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ ।

यस्तै वन तथा वातावरण मन्त्रालयको ४ दशमलव ४० प्रतिशत, सामाजिक विकास मन्त्रालयको एक दशमलव ३० प्रतिशत, प्रदेश योजना आयोगको शुन्य दशमलव ८० प्रतिशत पुँजीगत खर्च भएको छ । प्रदेश लोक सेवा आयोग तर्फ जम्मा १९ दशमलव ८१ प्रतिशत खर्च हुँदा पुँजीगत तर्फ ४ दशमलव ०७ प्रतिशत भएको छ ।