व्यापार सहजीकरण र ट्राफिक व्यवस्थापन गर्न व्यवसायीको माग


भैरहवा– खुल्ला सिमानाबाट हुने अवैध व्यापारलाई नियन्त्रण गरी बैध व्यापारमा सहजीकरण र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन भैरहवा क्षेत्रका व्यवसायीले माग गरेका छन् । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन) द्वारा भैरहवामा सञ्चालित सातौं लुम्बिनी महोत्सव स्थलमा मंगलबार आयोजना गरिएको एक अन्तरक्रिया कार्यक्रममा व्यवसायीले यस खालको माग गरेका हुन् । व्यवसायीले राखेको माग भैरहवा भन्सार कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग लक्षित हो ।
अधिकांश व्यवसायीले भारतसँगको खुल्ला सिमानाबाट हुने अवैध व्यवसायिक कारोवारले सिमावर्ती नेपाली बजारमा उत्पादित बस्तु तथा बैध कारोवार गर्ने व्यवसायीले प्रतिष्पर्धा गर्न नसकेको, अवैध कारोवारलाई प्रहरी, सुरक्षाकर्मी लगायत कतिपय सरकारी स्तरका कर्मचारीको संरक्षण रहने गरेको र भैरहवा क्षेत्रको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्न थालेको बिषयबस्तुलाई उठान गरेका थिए ।
भैरहवा क्षेत्रका युवा उद्यमी तथा उक्त महोत्सवको प्रायोजक समेत रहेका रिया एण्ड रक्षा फुड प्रोडक्टका सञ्चालक मदन पाण्डेले खुल्ला सिमानाबाट हुने तस्करीका कारण स्वदेशी उत्पादित बस्तुले प्रतिस्पर्धा गर्न नसक्ने बताए । ‘यदि भन्सार भएर बैध रुपमा सामान भित्रिने हो भने हामीले भारतीय उत्पादित बस्तुसँग प्रतिस्पर्धा गर्न सक्छौं’, उनले भने ।
महोत्सव आयोजक संस्था चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष सचिन रोक्काले भन्सार कार्यालयले व्यापार सहजीकरण गराएको अनुभूति व्यवसायीले गर्न सक्ने बातावरण गराइदिन आग्रह गरे । रेष्टुरेन्ट व्यवसायी रमाकान्त भट्टराईले खुल्ला सिमानाबाट चोरीपैठारी गराउने तथा अवैध रुपबाट सामान भित्राउनमा स्वयम् व्यवसायीले नै प्रोत्साहन गने गरेको र तस्करसंँग प्रहरीको सेटिङ बिना खुल्ला सिमानाबाट कुनै पनि सामान अवैध रुपमा नेपाल भित्रिन नसक्ने बताए ।
उनले पछिल्लो समयमा मोडिफाई गरेर चलाउने मोटरसाइकलको आतंक हुने थालेको र भन्सार सुबिधाको नामबाट दिनहुँ भैरहवा क्षेत्रमा आउने भारतीय नम्बर प्लेटका सवारी साधनमाथि निगरानी राख्न जरुरी भएको कुरा औंल्याए । अर्का होटल तथा रेष्टुरेन्ट व्यवसायी सुरज घिमिरेले भन्सार पास नहुँदै भन्सार बाहिर राजमार्गमा राखिने मालवाहक गाडीको लामले बेलहिया नाका क्षेत्रमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुन पुगेको बताए ।
मोटरसाइकलमा साइलेन्सर जोडेर रातमा पड्काउदै हिँड्ने गरेको, ई–रिक्साको भाडा लगायत पार्किङ व्यवस्थापन हुन नसकेको, बास्तविक बजार मूल्य भन्दा भन्सार मूल्यांकन धेरै हुने गरेको, भैरहवामा जताततै बसपार्क बनाउने गरिएको, भैरहवा नाकामा हुने अनाबश्यक चेकजाँचका कारण व्यवसायीले नाका परिवर्तन गर्न थालेको, भारतीय पर्यटकका गाडीलाई चेकजाँचका नाममा अनावश्यक हैरानी दिने गरिएको, भैरहवा क्षेत्रमा जडान गरिएका ट्राफिक लाइटको नियम पालना नहुने गरेको, बिना भन्सार भारतीय अवैध मदिरा भित्रिन थालेको लगायतका गुनासा सहभागी व्यवसायीले गरेका थिए ।
व्यवसायीले उठाएका बिषयबस्तुको जवाफ दिँदै भैरहवा भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले व्यापार सहजीकरण गर्नु भन्सारको मुख्य उद्देश्य भएको र इमान्दार कारोवार गर्ने व्यवसायीलाई भन्सारले जहिले पनि सहयोग र प्रोत्साहन गर्ने बताए । ‘व्यापार सहजीकरणका लागि स्थानीय व्यवसायिक संघसंस्था समेतको प्रतिनिधित्व हुने गरि समिति रहेको छ र भन्सार असहजताका वारेमा यो समितिको बैठकमा छलफल हुने गर्छ’, पौडेलले भने, ‘बास्तविक कारोवार गर्ने व्यवसायीको सहजताका लागि भन्सार जाँच नै नगर्ने र भन्सार महसुल तिर्न तत्काल पैसा नभए पनि पछि तिर्ने गरी सुविधा उपलब्ध गराउने नियम कार्यान्वयनमा आउँदै छ ।’
निर्माणाधीन आईसीपी बनेपछि भन्सार क्षेत्रमा रहेको ट्राफिक समस्याको व्यवस्थापन हुने जनाउँदै उनले अनाबश्यक मुनाफामात्र कमाउने उद्देश्य नराखेर इमान्दार भइ व्यवसाय गर्न उनले व्यवसायीलाई आग्रह गरे । ‘भारतमा जिएसटी घट्नासाथ मूल्य घट्ने गर्छ र व्यवसायीले किनिसकेको सामानको पनि बढी लिएको मूल्य फिर्ता दिने गर्छन्’, उनले भने, ‘त्यस खालको इमान्दार व्यवसाय याहाँ पनि गर्ने हो भने चोरीपैठारी स्वतः बन्द हुन्छ ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी निरीक्षक प्रतिमा कार्कीले खुल्ला सिमानाले व्यवसायमा मात्र नभएर ट्राफिक व्यवस्थापनमा पनि चुनौती रहेको जनाउँदै व्यवस्थापनका लागि बिगतको कमिकमजोरीलाई सच्याउँदै प्रभावकारी योजना र रणनीति अवलम्बन गरिने बताइन् । ‘मोडिफाइ गरिएका बाइकहरु जहाँ जुन अवस्थामा भेटिन्छ त्यही नियन्त्रणमा लिएर कानुन बमोजिम जरिवाना गरि पहिलाकै अवस्थाको बनाएरमात्र छाड्ने गरिएको छ’, उनले भनिन्, ‘यस काममा ठुलो सफलता पाइराखिएको छ ।’
यही मेलास्थल पनि नियम बिपरीतका सवारी साधन पार्किङमा पाइने गरेकाले ट्राफिक प्रहरीको ध्यान केन्द्रित रहेको उनले जनाइन् । अन्तरक्रिया कार्यक्रम चलिरहेका बेला कार्यक्रम स्थलमा आइपुगेका लुम्बिनी पदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले नेपालमा प्राकृतिक सम्पदाले पर्यटन क्षेत्रको भविष्य रहेकाले पर्यटक अवागमनमा सहज हुने बातावरण सवै पक्षले बनाउनु पर्नेमा जोड दिए ।
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले जातीय नाममा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा दिने गरिएको आरक्षणका कारण आर्थिक उन्नती गर्न नसकिएको बताए । जतीय नाममा भन्दा गरिबीको आधारमा आरक्षण दिइनु पर्ने भनाइ उनको थियो ।
व्यापार सहजिकरण गर्न र पर्यटन प्रबद्र्धनका लागि भन्सार नाकामा पर्यटकका गाडी र मालवाहक गाडीमा चेकजाँच सहितको सवै प्रक्रिया पुगेको कागज तथा स्टिकर सम्बन्धित निकायले टाँसेपछि गन्तब्यमा नपुग्दासम्म दुर्घटनाको कारण बाहेक अन्य कुनै कारणले बीचमा कतै पनि रोक्न नपर्ने प्राबधान लागु गर्ने तयारी गरिएको उनले बताए ।








प्रतिकृया दिनुहोस्