November 7, 2026, Saturday
२०८३ कार्तिक २१ शनिबार

पहिलो लुम्बिनी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पूरा

Advertisement

पाल्पा–ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय धरोहरलाई चलचित्रका माध्यमबाट देश–विदेशमा चिनाउने उद्देश्यले पाल्पामा आयोजना हुन लागेको ‘पहिलो लुम्बिनी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को सबै तयारी पूरा भएको छ ।

Advertisement

कथा मण्डलाको आयोजनामा तानसेनस्थित सन्तोष चलचित्र मन्दिरमा बिहीबारदेखि शनिबारसम्म चल्ने उक्त महोत्सवमा नेपालसहित विभिन्न मुलुकका २४ वटा फिचर फिल्म, लघु कथानक चलचित्र र वृत्तचित्रहरू प्रदर्शन गरिने भएका छन् ।

सामाजिक सरोकार, मौलिक कथा, सांस्कृतिक विषयवस्तु र कलात्मक गुणस्तरका आधारमा चलचित्रहरू छनोट गरिएको कथा मण्डलाका कार्यकारी निर्देशक पाण्डव खत्रीले बताए ।

खत्रीका अनुसार, महोत्सव सिनेमा प्रदर्शनमा मात्रै सीमित नरहेर दर्शक र चलचित्रकर्मीबीच प्रत्यक्ष संवाद गराउने थलो बन्नेछ ।

महोत्सवका अवसरमा वरिष्ठ कलाकारहरू नीर शाह, शर्मिला मल्ल, र धिरेन शाक्यलगायतको उपस्थितिमा सिनेमा सम्बन्धी विचार विमर्श गरिनुका साथै लुम्बिनी प्रदेशको कला, पर्यटन र आर्थिक सम्भावनाबारे विज्ञ, नीतिनिर्माता र स्थानीय प्रतिनिधि सम्मिलित प्यानल छलफलसमेत सञ्चालन गरिनेछ ।

यस महोत्सवले पाल्पाको तानसेन, रानीमहल, ऋषिकेश क्षेत्र, कपिलवस्तु, बर्दिया तथा दाङका धारापानी र अम्बिकेश्वरी जस्ता धार्मिक एवं ऐतिहासिक क्षेत्रलाई पर्दामा ल्याएर छायांकनका लागि आकर्षक गन्तव्यका रूपमा विकास गर्न मद्दत पु¥याउने अपेक्षा लिइएको छ ।

करिब २४ लाख रुपैयाँको अनुमानित बजेटमा सम्पन्न हुन लागेको उक्त महोत्सवमा स्वदेशी तथा विदेशी गरी कम्तीमा ५ हजार दर्शक एवं चलचित्रप्रेमीको सहभागिता रहने आयोजकको आकलन छ ।