November 7, 2026, Saturday
२०८३ कार्तिक २१ शनिबार

बजारको मागअनुसार प्राविधिक शिक्षाको पाठ्यक्रम तयार पार्न जरुरीः मुख्यमन्त्री आचार्य

Advertisement

दाङ –लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राविधिक शिक्षालाई श्रम बजारको माग र निजी क्षेत्रको आवश्यकतासँग जोडेर दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताएका छन् ।

Advertisement

लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बुधवार राप्ती देउखुरीमा आयोजना गरेको प्राविधिक तथा व्यावसायिक सीप र निजी क्षेत्रको सीप आवश्यकतासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले बजारको मागअनुसार पाठ्यक्रम परिमार्जन र सीप विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका हुन् ।

प्राविधिक शिक्षामा लगानी बढे पनि शिक्षालयमा विद्यार्थीको आकर्षण घट्दै जानु र कतिपय शिक्षालय बन्द हुने अवस्थामा पुग्नु चिन्ताको विषय भएको उनले बताए । परम्परागत शिक्षण शैली र बजारको आवश्यकतासँग मेल नखाने पाठ्यक्रमका कारण प्राविधिक शिक्षाप्रति आकर्षण घटेको हुन सक्ने अनुमान उनले गरे ।

‘प्राविधिक क्षेत्रमा लगानी बढेको छ । तर, हामीले बजारले माग गरेको आधारमा जनशक्ति तयार पार्न सकेका छौँ कि छैनौँ, समीक्षा गर्न जरुरी छ’, उनले भने, ‘अहिले प्राविधिक विद्यालयमा विद्यार्थी भर्ना हुन नसकेको अवस्था छ ।’ बजारको मागअनुसार पाठ्यक्रम बनाउन नसकेको हो कि भन्ने विषयमा सीटीईभीटीले समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।

रोजगारीको खोजीमा रहेका युवालाई उद्यमशीलतासँग जोड्दै दक्ष जनशक्तिमा रूपान्तरण गर्न प्रदेश सरकारले थप कार्यक्रम सञ्चालन गर्ने उनले जनाए ।

लुम्बिनी प्रदेशमा विद्युतीय तथा मेकानिकल क्षेत्रका दक्ष जनशक्तिको माग करिब ५२ प्रतिशत रहेको छ । तर, प्राविधिक शिक्षालयबाट उत्पादन हुने जनशक्तिको सीप र उद्योगको वास्तविक आवश्यकताबीच तालमेल हुन नसकेको अध्ययनले देखाएको छ । दक्ष तथा अनुभवी प्राविधिक जनशक्ति उपलब्ध नहुँदा उद्योगहरू अन्य जिल्ला र भारतमा निर्भर हुनुपर्ने अवस्था रहेको निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन् ।

लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८३–८४ का लागि विभिन्न मन्त्रालयमार्फत प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभीईटी) क्षेत्रमा ४१ करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सामाजिक विकास मन्त्रालयमा ३० करोड १४ लाख ५२ हजार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयमा ८ करोड ४७ लाख ३५ हजार, कृषि, भूमि तथा सहकारी मन्त्रालयमा २ करोड १७ लाख, युवा तथा खेलकुद मन्त्रालयमा ५२ लाख र वन तथा वातावरण मन्त्रालयमा १२ लाख रुपैयाँ विनियोजन भएको छ ।

प्रदेशमा १५ देखि ६५ वर्ष उमेर समूहको जनसङ्ख्या ६४.९ प्रतिशत छ । साक्षरता दर ७८.१ प्रतिशत र बेरोजगारी दर ७.५ प्रतिशत रहेको छ । श्रमशक्तिमध्ये कृषि, वन तथा मत्स्यपालन क्षेत्रमा ६०.३ प्रतिशत, सेवा क्षेत्रमा ३६.२ प्रतिशत र औद्योगिक उत्पादन क्षेत्रमा ३.५ प्रतिशत संलग्न छन् ।