बालबालिकाको नियमित अध्ययनका लागि ‘बालबगैंचा’ कार्यक्रम



भैरहवा–विद्यालय भर्ना भएका बालबालिकाको नियमित अध्ययन सुनिश्चित गर्न र विद्यालयबाहिर रहेका बालबालिकालाई समेत शिक्षाको पहुँचमा ल्याउन नेपाल बाल कल्याण संस्था सिद्धार्थनगरले ‘बालबगैचा’ कार्यक्रम सञ्चालनको तयारी गरेको छ ।
रुपन्देहीको रोहिणी गाउँपालिका–५ स्थित पिपरहवा माध्यमिक विद्यालयमा कार्यक्रमको शुभारम्भ गर्ने तयारी गरिएको हो । विद्यालयको बालविकासअन्तर्गत शिशु कक्षामा अध्ययनरत ४१ जना बालबालिकाको नियमित उपस्थितिलाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गर्न लागिएको संस्थाका कार्यक्रम संयोजक सुनिल त्रिपाठीले जानकारी दिए ।
कार्यक्रम सञ्चालनका लागि विद्यालयमा आवश्यक भौतिक पूर्वाधारलगायतका विषयमा स्थलगत अध्ययन गरी विद्यालय प्रशासन तथा व्यवस्थापन समितिसँग छलफलसमेत गरिएको त्रिपाठीले बताए ।
उनका अनुसार ‘बालबगैचा’ कार्यक्रममार्फत विद्यालयमा विद्यार्थी नियमित नआउनुको कारण पहिचान गरी समाधानका उपाय खोजिनेछ । यसका लागि विद्यालय परिवारसँगै सम्बन्धित बालबालिकाका अभिभावकसँग नियमित छलफल र समन्वय गरिने छ । ‘अभिभावकसँग निरन्तर सम्पर्कमा रहेर बालबालिकाको पढाइलाई निरन्तरता दिने अभियानमा संस्था जुट्नेछ,’ त्रिपाठीले भने ।
कार्यक्रम कम्तीमा दुई वर्षसम्म सञ्चालन गरिने छ । यस अवधिमा बालबालिकाको पढाइलाई निरन्तरता दिन विद्यालयमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्नुका साथै अभिभावक तथा समुदायलाई लक्षित गरी जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिनेछ ।
‘बालबगैचा’ कार्यक्रमअन्तर्गत शिशु तहका विद्यार्थीलाई पौष्टिक आहार, पोसाक तथा शैक्षिक सामग्री उपलब्ध गराइनेछ । नियमित स्वास्थ्य परीक्षण तथा आवश्यक उपचार, नियमित पठनपाठनका अतिरिक्त अतिरिक्त अध्ययनलगायतका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । कार्यक्रम सञ्चालनका लागि करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान छ ।
पिपरहवा माध्यमिक विद्यालय आसपासको क्षेत्रमा पिछडिएका, आदिवासी, दलित, सीमान्तकृत, मुस्लिम तथा आर्थिक रूपमा विपन्न समुदायको उल्लेख्य बसोबास रहेको छ । सो क्षेत्रका बालबालिकाले बीचमै पढाइ छाड्ने क्रमसमेत बढी रहेकाले ‘बालबगैचा’ कार्यक्रम लागू गर्न लागिएको त्रिपाठीले बताए ।

विद्यालयको शिशु कक्षामा भर्ना भएका ४१ जना बालबालिकामध्ये नियमित रूपमा विद्यालय आउने विद्यार्थीको संख्या १० देखि १२ जनामात्र रहेको प्रारम्भिक अध्ययनबाट पाइएको उनले जानकारी दिए ।
नेपाल बाल कल्याण संस्था सिद्धार्थनगरका अध्यक्ष धर्मबहादुर खड्काले विद्यालयमा बालबालिकाको नियमित उपस्थिति बढाउनुका साथै विद्यालयमा भर्ना नै नभई शिक्षाबाट वञ्चित रहेका बालबालिकाको खोजी गरी उनीहरूलाई समेत शिक्षाको मूलधारमा ल्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको बताए ।
‘यस कार्यक्रममार्फत विद्यालयको पहुँचभन्दा बाहिर रहेका बालबालिका र भर्ना भएर पनि बीचमै पढाइ छाड्ने प्रवृत्तिको कारण पहिचान गरिनेछ,’ खड्काले भने, ‘यदि गरिबी तथा आर्थिक अभाव मुख्य कारण देखिएमा सम्बन्धित बालबालिकाको परिवारमा आयआर्जनका कार्यक्रमसमेत सञ्चालन गरिनेछ ।’
संस्थाले बालबालिकाको शिक्षा निरन्तरता केवल विद्यालय र विद्यार्थीमा मात्र निर्भर नभई परिवारको आर्थिक अवस्था तथा सामाजिक परिवेशसँग समेत जोडिएकाले अभिभावक र समुदायलाई समेत सहभागी गराएर कार्यक्रम अघि बढाउने योजना रहेको भनाइ खड्काको छ ।








प्रतिकृया दिनुहोस्