रास्वपा उम्मेदवार तौफिकको योजनाः ‘गोठदेखि ओठसम्म, शुद्धता र समृद्धि’


लुम्बिनी– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही क्षेत्र नम्बर ५ का उम्मेदवार तौफिक अहमद खाँनले कृषि र पशुपालन एकअर्काका पूरक भएको जनाएका छन् । उनले क्षेत्रमा पशुपालनलाई परम्परागत निर्वाहमुखी अवस्थाबाट व्यावसायिक नाफामूलक उद्योगमा बदल्न विभिन्न योजना समेत अघि सारेका छन् ।
गाई र भैंसीको उत्पादन क्षमता बढाउन उनले कृत्रिम गर्भाधानको योजना अगाडि बढाउन जोड दिएका छन् । प्रविधिको प्रयोग गरी बाच्छी–पाडी मात्र जन्मने सुनिश्चितता गरिने उनको योजना छ । यो सेवा किसानका लागि पूर्णतः निःशुल्क प्रदान गर्न आफूले काम गर्ने उनले बताए । ‘बाख्रापालन गर्ने किसानका लागि उन्नत जातका (जस्तैः बोर) बोकाहरू वडा स्तरमा वितरण गरिनेछ’, उनले भने, ‘दूध उत्पादन बढी हुने पकेट क्षेत्रहरूमा सामुदायिक दूध संकलन तथा चिस्यान केन्द्र स्थापना गरिनेछ ।’
रुपन्देही ५ मै एउटा ठूलो दुग्ध प्रशोधन केन्द्रस्थापना गरी दही, पनिर, घिउ र खुवा उत्पादन गरी ब्राण्डिङ गर्ने योजना आफ्नो रहेको बताए । ‘किसानले सहकारीमा बेच्ने दूधमा प्रति लिटर ५ रुपैयाँसम्म सिधै किसानको खातामा जाने गरी ‘उत्पादनमा आधारित अनुदान’ दिइनेछ’, उनले भने, ‘स्थानीय युवाहरूलाई पोल्ट्री फार्म सञ्चालन गर्न सहुलियतपूर्ण ऋण र प्राविधिक सहयोग दिइनेछ ।’
स्थानीय ‘लोकल’ कुखुरा र हाँस पालनलाई प्रवद्र्धन गर्न विशेष अनुदान कार्यक्रम ल्याइने उनको योजना छ । दानाको बढ्दो मूल्य नियन्त्रण गर्न स्थानीय मकै र भटमास प्रयोग गरी सामुदायिक दाना उद्योग स्थापनाका लागि पहलकदमी गर्ने उनले बताए ।
बिरामी पशुको उपचारका लागि ‘पशु डाक्टर घरदैलो’ सेवा सुरु गर्ने र एक कलमा प्राविधिक टोली किसानको गोठमै पुग्ने व्यवस्था मिलाइने जनाए । यसका लागि पालिका र प्रदेश सरकारसँग समन्वय गर्ने उनले बताए । ‘खोरेत, पिपिआर र चरचरे जस्ता महामारी रोग विरुद्ध वर्षमा दुई पटक निःशुल्क खोप अभियान सञ्चालन गरिनेछ’, उनले भने, आधुनिक गोठ निर्माणः पशुलाई गोठमै नुहाउने, सफा राख्ने र मूत्र व्यवस्थापन गर्ने गरी आधुनिक गोठ बनाउन ५० प्रतिशत पुँजीगत अनुदान दिइनेछ ।’
उन्नत जातका घाँस (जस्तैः नेपियर, सुपर नेपियर, मकैचरी) को बिउ र सेटहरू निःशुल्क वितरण गर्ने, सार्वजनिक र सामुदायिक वनका खाली जग्गामा वृक्षारोपण गर्दा पशु आहारका लागि उपयुक्त डालेघाँस लगाउन प्रोत्साहित गर्ने उनले जनाए ।
अव्यवस्थित मासु पसलहरूलाई व्यवस्थित गर्न आधुनिक र स्वस्थकर वधशाला निर्माण गरिने र जहाँ डाक्टरले प्रमाणित गरेको मासु मात्र बिक्री गर्न पाइने व्यवस्था मिलाउने जनाए । ‘यस क्षेत्रको खसी–बोका र कुखुराको मासुलाई व्यवस्थित प्याकेजिङ गरी बुटवल, भैरहवा र काठमाडौँका बजारमा ‘रुपन्देही–५ ब्राण्ड’ मा पठाइनेछ’, उनले भने, ‘पशुको मृत्यु हुँदा किसान टाट पल्टिने अवस्था अन्त्य गर्न पशु बिमा प्रिमियममा ७५ प्रतिशत केन्द्र–प्रदेश र २५ प्रतिशत स्थानीय सरकारले बेहोर्ने गरी किसानका लागि ‘शून्य लागत बिमा’ कार्यक्रम लागू गरिनेछ’, उनले भने ।
सेवा सुविधा वितरणमा पारदर्शिता होस् भन्नका लागि प्रत्येक पशुको कानमा ट्याग लगाइ डिजिटल अभिलेख राखिने जनाए । ‘युवाहरूलाई खसी–बोका पालन, बङ्गुर पालन र कुखुरा पालन सम्बन्धी आधुनिक र व्यावसायिक तालिम प्रदान गरिनेछ’, उनले भने, ‘वार्षिक रूपमा उत्कृष्ट उत्पादन गर्ने १० जना पशुपालक किसानलाई ‘उत्कृष्ट कृषक पुरस्कार’ बाट सम्मानित गरिनेछ ।’ उनले रुपन्देही ५ लाई मासु, अण्डा र दूधको ‘निर्यात केन्द्र’ बनाउन लागिपर्ने जनाउँदै क्षेत्रका किसानको गोठमा लक्ष्मीको बास गराउनु पहिलो प्राथमिकता हुने जनाए ।








प्रतिकृया दिनुहोस्