कृषि रूपान्तरणका लागि तौफिकले बुनेका योजना


भैरहवा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देही क्षेत्र नम्बर ५ का उम्मेदवार तौफिक अहमद खाँले कृषि क्षेत्रमा आमूल परिवर्तन गर्न सकिने किसिमको योजना अघि सारेका छन् । उनका योजनामा ‘एक वडा, एक विशिष्ट उत्पादनदेखि यान्त्रिकीकरण र प्राविधिक सेवा’सम्म समेटिएका छन् । उनले अघि सारेका योजना सतहीमा आधारित नभई एउटा सांसदले पालिका, प्रदेश र संघ सरकारसँग समन्वय गरेर कार्यान्वयन गर्न सकिने खालका छन् ।
हुनतः संघीय सांसद स–साना खुद्रे योजना नअलमलिएर नीतिगत तहमा काम गर्नुपर्छ । तर, नीति बनाएर पालिका वा प्रदेश सरकारसँग मिलेर काम गर्न सके योजनाहरु फलदायी हुनसक्छन् । ‘जुनसुकै सांसदले पनि स्थानीय सरकारले जस्तै टुक्रे योजना ल्याउन हुन्न । तर एउटा सांसदले जनता र सरकारबीच पुलको काम गर्छ, विकासमा पहरेदारी गर्न भने सक्छ’, रास्वपा उम्मेदवार खाँले भने, ‘राम्रा योजना पालिका, प्रदेश र संघ सरकार जसले अनुसरण गरे पनि हुन्छ भनेर मैले कृषि यी काम गर्न सकिन्छ भनेर योजना अघि सारेको हुँ ।’
नेपाल कृषि प्रधान मुलुक भएकाले यसमा आत्मनिर्भर जरुरी रहेको उनले बताए । उनले कृषि क्षेत्रमा परिवर्तनका लागि अघि सारेको पहिलो योजना हो, सिँचाइमा क्रान्तिः ‘खेत–खेतमा पानी, किसानको ओठमा मुस्कान’ । यसअन्तर्गत उनले ‘नदी डाइभर्सन र लिफ्ट सिँचाइ’लाई जोड दिएका छन् । दानव र कञ्चन नदीको पानीलाई हिउँदमा पनि उपयोग गर्न साना तथा मझौला लिफ्ट सिँचाइ आयोजनाहरू सञ्चालन गर्नुपर्ने उनको जोड छ । यस्तै, भैरहवा-लुम्बिनी भूमिगत जल सिंचाई आयाेजनाका पूराना ट्युबेल मर्मत गरि पुन: संचालनमा ल्याउन याेजनाबद्ध काम गर्ने उनले बताए
‘बोरिङ क्लस्टर’ अन्तर्गत गजेडी, रुद्रपुर र गैडहवाका सुख्खा क्षेत्रहरूमा ५० वटा ठूला ‘डिप ट्युबवेल’ जडान गरी सामूहिक सिँचाइ प्रणाली विकास गर्ने, सिँचाईका लागि प्रयोग हुने विद्युत्मा ७५ प्रतिशतसम्म अनुदान दिई किसानको लागत घटाउन पहल गर्ने उनले जनाए । उनको दोस्रो योजना हो, ‘एक वडा, एक विशिष्ट उत्पादन’ । उनले कञ्चन र गैडहवा क्षेत्रलाई अर्गानिक तरकारी उत्पादनको ‘हब’ बनाउन सकिने बताए । यस्तै, गैडहवा ताल वरपरका क्षेत्रमा आधुनिक माछा पालन र प्रशोधन केन्द्र स्थापना गर्न सकिने बताए । ‘लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रलाई धान र गहुँको बिउ उत्पादन केन्द्रको रूपमा विकास गर्न मेरो पहलकदमी रहनेछ’, उनले भने, ‘यी योजना हरेक क्षेत्रमा त्यहाँको आवश्यकता हरेर संचालन गर्नुपर्छ । यसका लागि एउटा सांसदले पुलको काम गर्नसक्छ भनेरै मैले योजना अघि सारेको हुँ ।’
कृषि क्षेत्रको विकासका लागि खाँले अघि सारेको अर्को योजना हो, ‘किसान कार्ड’ र सहुलियत वितरण । प्रत्येक किसानको डिजिटल प्रोफाइल बनाइ ‘स्मार्ट किसान कार्ड’ वितरण गर्ने र यही कार्डका आधारमा रासायनिक मल, उन्नत बीउ र कृषि औजारहरूमा प्रत्यक्ष अनुदान किसानको खातामा पठाउने व्यवस्था गर्न आफूले अग्रसरता लिने उनले सुनाए । यसका लागि बिचौलिया रोक्न र वास्तविक किसानले मात्र सुविधा पाउने सुनिश्चित गरिने उनको भनाई छ ।
अर्को योजना हो, शीतभण्डार र कृषि बजार । उनले कृषिको प्रचूर सम्भावना भएकाले क्षेत्र नम्बर पाँचमा क्षेत्रीय संकलन केन्द्र बनाइनुपर्ने बताए । ‘लुम्बिनी र रुद्रपुरमा कम्तीमा पाँच हजार मेट्रिक टन क्षमताको आधुनिक शीतभण्डार निर्माण गर्नुपर्छ’, उनले भने, ‘यसका साथै किसानले आफ्नो उत्पादनको मूल्य मोबाइलबाटै थाहा पाउने गरी ‘कृषि बजार एप’ सञ्चालन हुनुपर्छ ।’ उत्पादित वस्तु बिक्री नभएमा पालिकाले न्यूनतम समर्थन मूल्यमा खरिद गर्ने ग्यारेन्टी गर्न पहल गर्ने उनले बताए ।
कृषि यान्त्रिकीकरण र प्राविधिक सेवा विस्तार उनको अर्को योजना हो । प्रत्येक वडामा ट्रयाक्टर, हार्भेस्टर र ड्रोन (विषादी छर्कन) उपलब्ध हुने गरी मेसिनरी बैंक स्थापना जरुरी रहेको सुनाए । किसानले सस्तो भाडामा यी उपकरण प्रयोग गर्न पाउने सुनिश्चित गर्नुपर्ने खाँले जनाए । ‘क्षेत्र नं. ५ भित्रै एक आधुनिक घुम्ती माटो परीक्षण प्रयोगशाला सञ्चालन गरी माटोको गुणस्तर अनुसार मल प्रयोग गर्न सिकाइनेछ’, उनले भने, ‘प्रत्येक वडामा १ जना कृषि प्राविधिकको स्थायी व्यवस्था गरी किसानको खेतमै परामर्श सेवा पुर्याउन काम गर्नेछौं ।’
खाँले कृषि क्षेत्रमा अघि सारेको अर्को योजना हो, पशुपालन र दुग्ध उत्पादन । यसमा गाईभैंसीको नश्ल सुधारका लागि निःशुल्क कृत्रिम गर्भाधान कार्यक्रम संचालन गर्ने, लुम्बिनी क्षेत्रमा ठूलो दुग्ध प्रशोधन केन्द्र स्थापना गरी धुलो दूध र पनिर उत्पादन गरी निर्यातको वातावरण बनाउने, सार्वजनिक तथा बाँझो जग्गामा व्यावसायिक घाँस खेती प्रवद्र्धन गर्ने व्यवस्था मिलाउन तीनै तहका सरकारसँग सहकार्य गरेर काम गर्ने उनले जनाए ।
उनको अर्को योजना हो, कृषि पर्यटन । गजेडी र कञ्चन क्षेत्रमा कृषि फार्म स्टेलाई प्रोत्साहन गरेमा जहाँ पर्यटकहरू आएर कृषि कार्यमा रमाउन सक्ने उनले बताए । यसले किसानको आम्दानीमा दोहोरो फाइदा पुग्ने उनको विश्वास छ । बिमा र राहत कोष स्थापना गरी काम गर्नुपर्नेमा उनले जोड दिए । बिमा प्रिमियममा ७५ प्रतिशत सरकारी अनुदान र बाँकी २५ प्रतिशत स्थानीय तहले बेहोर्ने गरी ‘निःशुल्क कृषि बिमा’ लागू गरिनुपर्नेमा उनले जोड दिए । यस्तै, आपतकालीन राहत बनाई बाढी, डुबान वा असिनाबारीबाट हुने क्षतिमा तत्काल राहत दिन ५ करोडको ‘किसान राहत कोष’ खडा गर्न आफूले काम गर्ने उनले जनाए ।
‘५ वर्षभित्र रुपन्देही ५ लाई लुम्बिनी प्रदेशकै नमुना कृषि क्षेत्र बनाउने र यहाँका युवाहरूलाई खाडी मुलुक जानबाट रोकी आफ्नै माटोमा सुन फलाउने वातावरण सिर्जना गर्न म निरन्तर लाग्नेछु’, उनले भने, ‘मैले अघि सारेका योजना हरेक क्षेत्रमा लागू हुने खालका छन् । यसमा पालिका, प्रदेश र संघ सरकारले जसले काम गरे पनि हुन्छ । तर, यसका लागि पहल जरुरी छ ।’ उनले कृषि उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन सरकारले आफूले अघि सारेका योजना समेटेमा ठूलो सफलता हासिल हुने जनाए । ‘निर्वाचनमा उम्मेदवार बनेको छु, जितहार जनताको फैसला हो । तर, मैले अघि सारेका योजना पूरा गर्न तीनै तहका सरकारसँग मेरो पहलकदमी निरन्तर रहन्छ’, उनले भने ।








लेखकको सम्वन्धमा